नाैरङ्गी फुली (१०२लघुकथा)
३७.
दुःखको मुहान
“दुःख, दुःखसँग अभ्यस्त भइयो । दुःखभोग्न सजिलो लाग्न थालेको बेला सुखसित साक्षात्कार भयो भने त्यसलाई चिन्न पनि सक्तिनँ होला !”
“साँच्चै कहिल्यै सुख भोग्नु भएको छैन ?”
“खोई, थाहा छैन ।”
“बिहे गर्नु भएको छैन ?”
“गरेको छु ।”
“सन्तान जन्मेको छैन ?”
“छ ।”
“साथीभाईहरुको माया प्रेम प्राप्त गर्नु भएको छैन ?”
“छ ।”
“तिनीहरु सुख होइनन् र ?”
“त्यहि त दुःखको मुहान भएको छ । दुःखको मुहान.. बिहे, सन्तान, साथीभाई, मनोआकाङ्क्क्षा आदि आदि ...!”
२०७४ असार २१, धरान
३८.
सहन
फेसबुक मेसेन्जरको अतिथीको निम्तोमा कार्यक्रममा पुगियो । निम्ता गर्ने महानुभाव मञ्चमा ठाटिएर बसेका छन् । गन्यमान्य प्रशाशक, नेता र चन्दादाता सबैलाई सम्मान फूलमाला, खादा, ब्याच लगाउदै आसन ग्रहण गराए । मेरो पनि नाम बोलाउछन् कि भनेर ध्यान दिएर सुनिरहेँ ।
भिषण भाषण सुरु भयो । जोडतोडले ताली बज्यो, मैले पनि स्वाभाववस बजाए । अझै आशा थियो कतै आसन ग्रहण गराई हाल्छन् कि !
यत्तिका उमेर ताली बजाएर नै बित्यो । अझै ताली नै बजाई रहनु ? बोलाएर उपेक्षा गरिएको अनुभूति हुनासाथ जुरूक्कै उठेँ र हिडेँ । बजार एकफन्का घुमेर घर पुग्दा पनि मनमा उपेक्षा खड्की रह्यो ।
प्रेरक प्रसङ्ग पढन थाल्छु । शिष्य नरेन्द्रसँग रामकृष्ण परमहंशले एकहप्ता बोल्दै बोलेनन्, बोल्न खोज्दा पनि गुरुले मुख अर्कैतिर फर्काउथे । तापनि नरेन्द्र प्रणाम गरेर गुरुसँगै बस्थे । परमहंशले नबोलेर नरेन्द्रको उपेक्षा सहन शक्ति जाँचेका थिए । उपेक्षा सहनशक्ति भएका त्यही नरेन्द्र पछि विवेकानन्द भए ।
मैले पनि थाहा पाउन थालेको छु... उपेक्षा सहनशक्ति मैले पनि आफूभित्र अपार रूपमा सृजन गर्न सक्नु पर्छ । अबका बुढेसकालका दिनहरूमा मैले अझ धेरै उपेक्षाको सामना गर्नु पर्ने छ ।
यस्तो ज्ञान दिलाउने, कार्यक्रममा ताली बजाउन निम्तो दिने प्रिय आयोजकलाई म मनमनै धन्यवाद दिन्छु । हो, उपेक्षा पचाउन सक्नेले नै जविनको रहस्य थाहा पाउछ ।
२०७७ पौष २१
३९.
भोको पेट
मेरो बिद्यार्थी कालको कुरा— गाउँमा कक्षा सात पास गरेपछि सदरमुकाम बजारमा पढ्न गइयो । फुफु र म एकजनाको घरमा बसेका थियौँ । चामल र तरकारी दिएपछि घरबेटिले नै खाना पकाएर दिन्थिन् । घरबेटिका मसिना नानीहरु थिए । सबैलाई थोरैथोरै दिएर भएपनि पु¥याउनु पर्ने तिनको बाध्यता थियो होला । भात थोरै दिन्थिन्, थप्दा पनि थोरै । गाउँ घरमा अघाउजी पुटुक्क भुडी उक्सिन्जेल खाने बानी परेका हामी आधा पेट हुन्थ्यो । जतिबेला पनि भोक लागिरहने हुँदा पढाई र खेलकुदमा ध्यान जादैनथ्यो ।
एक महिनापछि तिनको सासुकोमा हामी सर्नुपर्ने भयो । सासु कर्कश बोलीका कडा मिजासका थिईन् । ससुराको खुराक धेरै थियो । बिरालोले नाघ्न नसक्ने भात खान्थे । हामीलाई पनि सासुले थुप्रै भात दिन्थिन् । अघाउन्जेल खान पाएकोमा हामी मक्ख परेका थियौँ । जति नै आदर्शका कुरा गरे पनि पेटभरी खान पाइएन भने ति आदर्शका कुरा फोस्रा हुन्छन् भन्ने त्यतिबेला थाहा भएको थियो । पेटभरी खान दिने हुनाले सासुको कर्कश बोली र कडा मिजास पनि हामीलाई राम्रो लाग्थ्यो ।
भोको पेटले कोही पुस्तक पढ्न सक्तैन । त्यो हाम्रो जीवनको पहिलो शिक्षा थियो ।
२०७४ जेठ २४ , धरान
४०.
इच्छा मरण
इच्छा मरण सबैको चाहना हुन्छ पौराणिक कथाका पात्रहरूको झैँ ।
के यो सम्भव छ ? प्रश्न मनको आयतन ढाकेर फैलन्छ । सम्भव छ । जीवनले यसरी थकाउछ कि मानिसहरू मर्ने इच्छा गर्न पुग्छन् ।
मैले धेरै रोगी बिरामीहरू भेटेको देखेको छु । मेरो आफ्नै स्व.पत्नी पनि । डायलाइसिस गर्दागर्दा थाकेर मधुमेहका बिरामी तिनले गुलियो चकलेट अति धेरै खाएर मलाई बिरामी स्याहार्ने झन्झटबाट मुक्ति दिन इच्छा मृत्यु रोजिन् र रुँदै बिदा भइन् । मुटु रोगीहरूले घ्यू बोसोयुक्त खाने कुरा खाएर इच्छा मृत्यु रोज्छन् । सबैलाइ इच्छा मृत्यु रोज्ने स्वतन्त्रता हुँदो रहेछ । सहिदहरू देशका लागि इच्छा मृत्यु रोज्छ्न् ।
म पनि इच्छा मृत्यु रोज्न मन पराउछु । मलाई पनि मधुमेह उच्चरक्तचाप आदि रोगहरूले मृत्युवरण गर्न सहज बनाएको छ । इच्छा मृत्यु रोज्न पर्याे भने मुख नबार्ने मनपरी खाएर इच्छा मृत्यु रोज्न सक्छु, तर इच्छा जीवन मेरो हातमा छैन । मेरा धेरै समकालिनहरूझैँ जीवनको नियम... मैले पनि जानै पर्छ । तर कहिले र कसरी ?
मुख बारीनँ र इच्छा मृत्यु रोज्दा पनि सहज मृत्यु भएन भने ...
‘इच्छा मरण’, ‘मृत्यु अवस्था’, ‘बाँच्ने मर्ने’. ‘जीवन भोग्ने सर्त’ अदना मानिसको वशमा हुँदैन कि ! वशमा नभएको. त्यसबारे केको चिन्ता !
म प्रसन्न हुन्छु ‘जतिसम्म बाँच्छु त्यो मेरो जीवन’ हो । जीवनको नौरङ्गी अनुपम सौन्दर्य देखेर म मुस्कुराउँछु । अझैसम्म म बाँचेको छु ...! सबै हामी घरतीका ‘राम्रो काम गरेमा महान् पनि बन्न सक्ने’ र ‘इच्छा मरण’ रोज्न सक्ने...! तर ‘इच्छा जीवन’ रोज्न नसक्ने अदना मानिस !
२०७६ फागुन १४, धरान
४१.
व्यावसायिक ज्ञान
नयाँ ठाँउ, नयाँ चलन र व्यवसाय । मलाई पहाडबाट मधेस झर्दा सब अनौठो र नयाँ लागेको थियो । माछा पक्रिने हुँदा पहाडमा जस्तै माछालाई डाँडमा पक्रिदा सिङ्गे माछाले हातमा घोचेर रुनु न हाँस्नु बनाएको थियो । पोलेर सहि नसक्नु भएको बेला स्थानीयले आगोमा सेकाउँदा बिशेख हुन्छ भन्ने ज्ञान दिएको थियो ।
मधेसमा रहदै बस्दा मैले पनि कैयौ कुरा सिकेँँ । फरुवा खन्नु, गोरु जोत्नु, आली धुर कस्नु, पैनी कुलो थुन्नु वा ल्याउनु आदि खेतीका कामहरु । भर्खरै पहाडबाट झरेको एक जना लाठे पैनी थुनी रहेको छ । फरुवा पनि राम्ररी चलाउन जानेको छैन । बल्लबल्ल एक फरुवा माटो हाल्छ, पानीले बगाएर लगिहाल्छ । ढुङ्गा खोज्छ, मधेसमा कहाँ पाउनु ?
पैनी थुन्न नसकेर खुईय गर्छ । मलाई दया लाग्छ र भन्छु “भाई, पैनी थुन्न पहिला किला गाढ़, त्यसपछि पराल वा झ्यास लगाएर माटो लगाऊ ।”
उसले त्यसै गर्छ र पैनी थुनेर रोपाई गर्ने खेततिर पानी लान सफल हुन्छ । व्यावहारिक सीप, व्यावसायिक अनुभव र ज्ञान कति महत्वपूर्ण हुन्छ जुन आफैले भोगेर मात्र प्राप्त गर्न सकिन्छ ।
२०७४ जेठ २०, धरान
४२.
भल–बाढी
खेत खोलाको छेउमा भएर पनि खेती गर्न जहिले पनि पानीको अभाव । सम्पत्तिको नाममा भएको एउटा खेत । कति पटक उसले कुलो खन्यो, केही दिनमै भल–बाढीले बगाएर उस्ताको उस्तै । अन्न फलाएर सम्पन्न बन्ने उसको सपना । हराभरा लहलह बाली कल्पना मात्र । भदौरे भल–बाढीले बगाएर खेतको नामो निसान केही रहेन । जिलो सकियो । लन्ठै साफ !
जीवन हो ! कसको पो चिताऊ पुगेको छ र !
ं ं ं ं ं
जे गरेर पनि पैसा कमाउने उसको उद्देश्य । अनेक परिश्रम, दुःख अनेक काम गर्दा पनि पैसा कमाउन सकेन । ढल्कदो उमेर भैसक्यो, के गरौँ ? भ्रष्टाचारी गिरोहसँग साँठगाँठ गरेपछि पैसा बर्सन थाल्यो । पैसा, पैसा थुप्रियो । पैसामा बस्यो, पैसामा सुत्यो । पैसाको भल–बाढी ! अहा ! अब भने उसले चिताको पुग्छ होला ...! हाँकेको ताकेको पुग्छ होला ! जीवन रमाइलै रमाइलो होला !
तर पैसाको भल–बाढीले बगाएर भ्रष्टाचारी गिरोहसँगै उसलाई पनि जेल पुरायो ।
छ्या पैसा ! सुखद असल जीवन गुजार्न कहाँ काम लाग्यो र !
२०७४ वैशाख १९, धरान
४३
शौख
शौख, इच्छा, विचार र सोच सबैको हुन्छ नै । त्यो भएन भने त मानिस र पशुमा फरक नै कहाँ रहन्छ र !
उसलाई फूल रोप्ने–स्याहार्ने शौख सानैदेखि थियो । सानोमा मुलघरमा पारी गाउँबाट उसले तारामण्डली फूलको हाघँगा लौरो जस्तो टेकेर ल्याई रोप्यो । जाग्यो, फुलिरहेको देखेर खुसी भइरहेको बेला गाँउ छाडेर परदेश लाग्नु प¥यो । ऊ अझै फेरि फर्केर गाँउ जान सकेको छैन । त्यस्तै खेतीपाती गरेर बस्ने मनसायले मधेस गयो । मधेसमा पनि तारामण्डली फूल रोप्यो । जाग्यो, बेस्सरी फैलियो । तर फेरि उसले मधेस छाडेर हिड्नु प¥यो । उसलाई लाग्यो कि ‘तारामण्डली फूल त अलच्छिनी पो रहेछ । रोप्यो, हुर्कायो । फुल्न थालेपछि त्यो थलो नै छोडेर हिँड्नु पर्ने ।’
‘हो वा होइन’ तर उसलाई त्यस्तै लागेकाले अहिले बसोबास गरिरहेको स्थानमा त्यो फूल रोपेको छैन ।
फूल रोप्ने, स्याहार्ने र फुलाउने सोखका कारण उसले कैयौं फूलहरू जमिनमा र गमलामा रोप्यो, फुलायो । ऊ आफूले रोपेको फूल फुल्दा अपार आनन्द हर्षातिरेकले कति पटक भिज्यो, भिज्यो । उसकी पत्नी अनेकौं जातका फूलका बिरूवाहरू ल्याउथिन् । ऊ रोप्थ्यो, स्याहाथ्र्यो र फुलाउथ्यो...
उसको शौख अहिले लकडाउनमा समय काट्ने मेलोमेसो भएको छ । जीवनमा उर्जा पाउने आधार–आभास भएको छ । शौकको महत्व !
अहिले बुढेसकालको उमेरमा उसलाई फुर्सदै फुर्सद छ । कैयौं फूल मासिए । उसलाई मन परेको एउटा फूल सुकेर म¥यो । त्यो फूलको जरामा प्याजदानाजस्तो गुभो थियो । नचलाइ वर्षा सिजनको पर्खाइमा ऊ बस्यो । अहिले टुँसाउदै छ । त्यो फूल उसको स्वर्गिय पत्नीले ल्याएकी हुँनाले उसको निम्ति अनमोल छ ।
ऊ सम्झन पुग्छ— गइसकेकी उसकी पत्नी फूल को रूपमा उम्रिरहेकी छे ....! दिवङ्गत पत्नी ! उसको आँखा रसाउँछ ।
२०७७ जेठ २०, लकडाउन
४४.
श्रद्धा
एक समय थियो त्यो सालिकमा श्रद्धाञ्जली चढाउन नेता ,कार्यकर्ता र सर्वसाधारणको घुइचो हुन्थ्यो । तर राष्ट्रघात, सिध्दान्तहिनता र भ्रष्टाचारको आहालमा पार्टि डुबेपछि त्यो सालिकप्रति पनि सर्वसाधारणको मनमा वितृष्णा पलायो ।
आज सालिकको जन्मजयन्तीमा एकजना सालिक निर्माता मात्र फूल अबिरका साथ श्रद्धाञ्जली दिन आएका छन् । उसलाई देखेर कसैले सम्झे वेवकुफ रहेछ । कसैले सम्झे सिध्दान्तवादी रहेछ । अरुहरूले जेसुकै सम्झुन् उसलाई मतलव छैन ।
ऊ सालिकलाई ढोगेर मनमनै सम्झन थाल्छ— ‘म गरिबीको अघोर यातनामा भएको बेला यही सालिक निर्माण समिति बनाएर धेरै चन्दा दान दातव्य लिएर थोरै खर्च गरेर सालिक बनाउन सफल भएँ । यसले मलाइ गरिबीबाट उन्मुक्ति दियो साथै पार्टिको नजरमा क्रियाशील देखिन पुगेँ । वार्ड अध्यक्ष भएर बेसुमार सम्पत्ति कमाएँ । धन्य सालिक ! कसैले मानुन् नमानुन् तर म भने बाँचुन्जेल सालिक तिम्रो ऋणी रहने छु । म सधैं शक्तिमा रहेको नेताको अन्ध पिछलग्गु भएँ । राष्ट्रघात, सिध्दान्तहीनता र भ्रष्टाचारले गर्दा शक्तिमा रहेको नेताहरूको पतनसँगै यो सिथिल स्थितिको जन्म भएको छ ।
मतिभ्रष्ट भएका नेताका कारण सालिक तिम्रो यस्तो गति भएको भए पनि तिम्रो जन्मजयन्तीमा (म एक्लै भए पनि) दुनियाँसँग उठाएर खाएको चन्दा दान दातव्य पचाउन र तिम्रो गुण तिर्न उपश्थित भएको छु !’
२०७६फागुन २३, धरान
४५.
शङ्काको पहरा
म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु । छेउको पल्लो बेडको बिरामीलाई उसको कुरुवाले टोइलेट लिएर गएको छ ।
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ । कामदार आएर तन्ना फेर्छिन् । मोबाइल सेट यताउता सार्छिन् । आफ्नो काम सकेर उनी जान्छिन् । म मोबाइल सेट देख्तिनँ । मेरो मनमा शङ्काको पहरा बन्छ । मोबाइल सेट पक्कै पनि कामदारले लगेको हुनुपर्छ ।
बिरामी र कुरुवा फर्किन्छन् । मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु ।
तर उनीहरुले त्यस्तो केहि गरेनन् । म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु । सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ ।
मेरो छट्पटिएको मन शान्त हुन्छ । तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु— ‘गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ । इमानदार भएकैले गरिब छ । किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?’
२०७१ चैत ३०, मेडिकेयर अस्पताल
४६.
व्यवस्थापन
श्रेणिको पहिलो छात्र नुलोक हरेक परिक्षाहरूमा प्रथम हुन्थ्यो । तर ‘फोरजी’ चल्ने मोबाइल उसकै अनुरोधमा लाहुरे मामाले पठाइदिएपछि श्रेणिमा प्रथम त के उत्तिर्ण हुन पनि मुस्किल हुन थालेपछि अभिभावक र शिक्षकहरू सबै चिन्तित हुन थाल्छन् ।
यसो हुनुको कारण नुलोक मोबाइलमा धैरै भुलिनु र पढाइलाई समय नदिनु रहेछ । इन्टरनेट पुगेको ठाउँमा मोबाइलमा नभुलिने को होला र ? अनेक ज्ञान र मनोरञ्जन दिने इन्टरनेट ! इन्टरनेट मोबाइल अभिसाप हो त ?
आफ्नो पढाइ बिग्रेकोमा नुलोक चिन्तित भयो तर ऊ मोबाइल छोड्न सक्तैनथ्यो, चाहदैनथ्यो ।
धेरै नयाँ कुरा र जानकारी दिने स्रोत मोबाइल हो । तसर्थ ऊ मोबाइल एडिक्ट भएको थियो । किताब पन्साएर मोबाइल हातमा सधैं हुँदा पढाइ कमजोर भएको थाहा पाएर उ गहिरो चिन्तामा डुब्छ । अब उसले श्रेणिमा प्रथम भई उत्तिर्ण हुन के गर्नु पर्छ ?
सबैलाइ प्राप्त हुने समय बराबरै हो । समय जसले राम्ररी व्यवस्थापन गर्न सक्यो उसलाई समयको अभाव हुँदैन रूपैयाँजस्तै । नचाहिदो खर्च गरे अभाव हुन्छ । उसले मोबाइललाई बढि समय दिइरहेको रहेछ ।
किताब, पढाइ, मोबाइल, इन्टरनेट र अन्य कामहरू बीच समयको उचित बाँडफाड गर्दै उसले समय व्यवस्थापन गर्छ । पढाइ सुधार हुन्छ र पुनः ऊ श्रेणिको पहिलो छात्र बन्छ ।
समय व्यवस्थापन जीवन व्यवस्थापन पनि रहेछ । जसले राम्ररी समय व्यवस्थापन गर्छ ऊ जीवनमा सफल हुन्छ । यो थाहा पाएर नुलोकले किताब, पढाइ, मोबाइल, इन्टरनेट, घरको काम, व्यायाम आदिमा समय व्यवस्थापन गर्छ । यसरी हर क्षेत्रमा सफलता प्राप्त गर्न समयको सदुपयोग गर्छ ।
२०७६ फागुन १७, धरान










Comments
Post a Comment