नाैरङ्गी फुली(१०२लघुकथा)
६७.
मिलिक्कै
नरिवल रोपेर खान पाईदैन भन्थे । तर मैले युवाकालमा नरिवलको बिरुवा घर अगाडि रोपेँ । अगाडिको बाटो फराकिलो बनाउने कुरा सुनेपछि निकै दुःखसाथ खनेर जरो सहित घर पछाडि सारँे । मर्छ कि ! जाग्यो फेरि त्यो ठाउँ उपयुक्त नलागेर अर्को ठाउँ सारेँ । यसरी सार्दा जत्राको तत्रै पाँच वर्ष बित्यो । मैले पनि विवाह गरेर त्यस अवधिमा गृह लक्ष्मी भित्र्याएँ । पाँच वर्षपछि त्यो बिरुवा हललल बढ्न थालेर हेर्न रहरलाग्दो भयो ।
मेरा पनि छोराहरू जन्मिए । नरिवल पनि फल्न थाल्यो । आफ्नै पौरखको स्वादिलो फल !
त्यही बोटको फल बिरुवा रोपेर अरु सात बोट हुर्काएँ । सबै बोट फल्न थालेपछि नरिवलको पानी, दाना सबै परिवारले धित मरुन्जेल खायौँ । पत्ताबाट झाडु बनाएर झाडुको खाँचो कहिल्यै भएन । सुकेको जटाले पनि दाउराको काम गथ्र्याे । नरिवलको सब काम लाग्छ भनेको साँचो रहेछ ।
समय बितेसँगै मेरो घरघडेरी वरिपरि पनि घरहरू बने । मैले सबैभन्दा पहिला रोपेको नरिवलको बोट चालीस वर्षको भईसकेको थियो । अग्लो न अग्लो भएको थियो । अरु पनि अग्ला भएका थिए । हावा हुरीले लड्यो भने अरुको घर कम्पाउण्डमा क्षति पुग्न सक्थ्यो । छिप्पिएको जमाना ! मान्छेहरू छोइसक्नु छैन । झगडामा उत्रिहाल्छन् । त्यस्तो भयो भने क्षतिपूर्ति डण्ड जरिवाना तिर्न नपरोस् भनेर ती अग्ला सबै नरिवलका रुखहरू खर्चै गरेर ढालियो । कलिला फलहरू । बाडियो, बाडेर पनि नसकिएकोले पानी निकालेर सब परिवारले भुँडी फुलिन्जेल खाइयो ।
डायलाईसिस गरिरहेकी पत्नीले पनि अघाइन्जेल खाइन् । बिसाएर सारो भइन् । हप्तामा दुई पटक गरिरहेको डायलाईसिस तीन पटक गर्नु पर्ने भयो ।
डायलाइसिस गर्न थालेको अढाई वर्षमै पत्नीको देहान्त भयो । एकचालिस वर्षको मेरो सुखमय दाम्पत्य जीवन झिमिक्कैमा सकियो ।
त्यो एकचालिस वर्षको अवधि सपनासरि मिलिक्कै सकिएझैँ लाग्छ । आफैले रोपेको, हुर्काएको र फल्दै गरेको नरिवलका रूखहरू आफैले काटियो । काट्नुपर्ने अवस्था चालीस वर्षमै सृजना भयो । ४१ वर्ष नपुग्दै पत्नीसँग छुट्टिनु प¥यो । छोराहरू हुर्काएर, बिहे गरेर नातिनातिनीहरू पनि हुर्काइ बढाइ गरिरहेकी गृह लक्ष्मी कति यथार्थ थिइन् । तिनी र नरिवलका रूखहरू ! सम्झदा सपना जस्तै लाग्छ ।
आफैले रोपेका नरिवलका रुखहरू र आफैले गुजारेका पारिवारिक जीवन ! खै के सम्झनु र ...
आँखा झिमिक्क गर्दा मिलिक्कै सकिएजस्तो लाग्छ । मानव इतिहासको हजारौं वर्षको लामो समय अन्तरालमा मैले गुजारेको समय मिलिक्कै त हो नि ... !
२०७७ कार्तिक २९.
६८.
जुत्ता र जुत्ताहरू
जागिरे जीवन । थोरै तलब धेरै खर्च । तन्नेरी भइन्जेल खुब हिँडिन्थ्यो । खुट्टाहरू बलिया दरा थिए तर जुत्ता एक जोडि मात्रै । त्यो नफाटुन्जेल अर्को जोर किन्ने ल्याकत थिएन ।
अवकासपछि यो बुढेसकालमा किनेका, उपहार पाईएका राम्रा राम्रा सात जोडि जुत्ताहरू मेरा पनि भएका छन् । तर खुट्टाहरू लुला । टाढा हिँड्न सक्तिनँ । जुत्ताहरू... कसरी फटाउने होला ?
बुढेसकालका जुत्ताहरू !
२०७९जेठ ९
६९.
सम्भव÷असम्भव
टुकुटुकु हिड्न थालेको छोराले तोते बोलीले ‘माम हाम अ आ उ... नु ।’ भनी बोलाउँछ ।
म खुसी हुन्छु फुच्चे छोरो पनि काम सघाउने भएछ । आमाले चप्पल खोलेर मात्र कोठामा पस्न सिकाएकी थिई । आफ्नो सानो फुच्चे चप्पल खोलेर कोठाभित्र पसेको हुन्छ ।
ऊ मलाई बोलाएर फर्किदा मेरो ठूलो चप्पलमा खुट्टा छिराएर घिसार्दै जान्छ ।
म पनि जानलाई तयार भएर उठ्छु । मेरो चप्पल उसले किस्तीझैँ घिसारेर लगिसकेको छ । उसको सानो फुच्चे चप्पल ढोकामा छोडेको छ । त्यो चप्पल छोराले मेरो ठूलो चप्पल लगाएझैँ लगाउन कसरी सम्भव हुन्छ र !
सम्झेँ मैले पनि म सानो हुँदा ठूलाहरूका जुत्तामा खुट्टा घुसारेर किस्तीझैँ घिसारेको थिएँ ।
२०७७ साउन १७
रचना दुई महिने साहित्यिक प्रकाशन, वर्ष ६२, अङ्क ४, पूर्णाङ्क १७९ (बेलबारी अङ्क)
७०.
अमूर्त प्रतीक्ष
दन्त्यकथा ‘प्यान्डोराको बाकस’बाट निस्केका अनेकौ दुःदकष्ट, रोगभोकपछि अन्तमा निस्केको आशा— हर जीवितहरूका बाँच्ने सहारा । झन्डैझन्डै सकिसकेको मेरो जीवनमा पनि आशाकै सहारामा म पर्खिरहेको छु, पर्खिरहेछु ... के, को र किन ?
कुमारी कन्या केटी र केटाहरूलाई युवा हुने कालको प्रतीक्षा हुन्छ । युवा भएपछि विवाह, सन्तान आदि र एउटा निश्चित गन्तव्य पुग्ने प्रतीक्षा थाहा हुन्छ ।
तर मलाई नै थाहा छैन । म पर्खिरहेको छु, पर्खिरहेछु । हर क्षण कोही मेरो सपना पूरा गर्न आउला ! मेरो हृदयभित्र रगत, आँसु र पिपले गुजुल्टिएको असह्य विछोडका घाउ कसैले निको पार्ला ! फेरि म सुन्दर रमणीय फूलहरूसित मुस्कुराउन सकूलाँ ! त्यही मेरो अमूर्त प्रतीक्षा हो त ?
त्यस्तो क्षण आउदै होला । ल्याउने को होला ?
त्यो नआइपुगुन्जेल प्रतीक्षारत मलाई आशा छ— त्यो आउछ !
अमूर्त प्रतीक्षा !
सायद त्यो अरू नभएर आफ्नै अधुरो इच्छा, तृष्णा र सपना होला । धैर्यसाथ त्यसलाई पर्खन मद्दत गर्ने आशा... अझै मिलन हुनेछ भन्ने बलवान आशा ! बलवान आशा नौरङ्गी जीवनमा बाँचुन्जेल बाँच्ने सहारा भएको छ ।
बाँच्नु सबैभन्दा ठूलो सम्झनेहरूका अमूर्त प्रतीक्षा हो यो । अवसान नजिक पुगेकाहरूका कथा–व्यथा पनि हो । जीवन भन्नु नै अमूर्त प्रतीक्षा ... !
२०७५ चैत १४ , धरान
७१.
सन्तोषप्रद अन्त्य
त्यो समयको युवती जुनबेला क्यामेरा, रेडियो, घडि ग्रामोफोन केही थिएन । त्यसै भएर तिनको युवाकालको सुन्दर तस्वीर छैन ।
त्यसै भएर विवाह पछि पतिसँगको युगल तस्वीर पनि छैन । एउटा छोरो जन्मिएपछि लोग्ने लाहुरे भर्ति लाग्न हिडे । त्यस पछि फर्केर आएनन् । प्रतीक्षामा लामो समय बित्यो ।
बहिनी भनेर बोलाउने तिनलाई दिदी भन्न थाले । आमा भन्न थाले । छोरा पनि लाठे भयो । बुबाको सम्झनामा आमाले बगाएको रातदिनको आँसुले चरक्क चिरिएको मुटु बोकेर ऊ पिता खोज्ने र केही कमाउने भनेर परदेश लाग्यो ।
त्यो क्षणको छोराको तन्नेरी रूप तिनको मन, मगज र आँखामा पतिको मानसिक चित्रसँगै अमिट भई बसेको छ । बाँच्ने आशा र सम्झना सहारा भएको छ ।
घडि आयो, रेडियो आयो, क्यासेटप्लेयर आयो । टेलिफोन, टेलिभिजन आयो, कम्प्युटर र इन्टरनेट आयो । मोबाइल हात हातमा सबैको । मोबाईल बचाइको अभिन्न अङ्ग भएको छ ।
यी अनेकौं प्रगतिले ‘समय कति बित्यो ?’ समय मापन गरेको छ ।
बिचरी आमा प्रतीक्षामा पतिको अब छोराको...
आमाबाट बोजु र बोजुबाट बुढिबोजु सम्बोधन पदोन्नति भएको छ ।
पति र छोरा एकसाथ आउलान् ! धैर्यले, आशाले बाँचिरहेकी सुनमायाको पति बखते र छोरा साने आएनन् । क्रुर जीवनले परिहास गर्दै तिनलाई बिरामी बनाएर मृत्यु शैय्यामा पु¥यायो नै ।
दयालु छिमेकीहरूको हेरचाहले तिनी बाँचिरहेकी थिईन् । मानसिक आघातले जर्जर शरीर ! तिनको वाक्य बस्यो । चल्मलाउन सक्दिनन् तर आँखा भने दैलोतिरै टुलुटुलु ...
श्वास किन गइरहेको छैन ? पक्कै छोरा वा पतिको एक झलक हेरेर मर्न चाहन्छिन् !
गाउँका युवाहरूले इन्टरनेट, फेसबुक र सामाजिक सञ्जालमा बाबू छोराका खोजी गरे । बाबू त भेट्टिएन तर छोरा भेटियो । छोराले उनीहरूलाई रुदै भर्खर विकसित भएको लेटेस्ट एप्सहरू पठायो ।
दैलोतिर हेरिरहकी आमाको अगाडि युवाहरूले ती एप्सहरू खोल्छन् ।
साने ‘आमा’ भन्दै दैलोभित्र पस्दै गरेको देखिन्छ । वाक्य बसिसकेको आमा भन्छिन् ‘प्यारो बखते ।’
‘पिता होइन, म साने । आमा !’
सानेको त्यो साच्चैकोजस्तो देखिने चित्रले आमालाई ढोगिसके पछि अङ्गालो मार्छ ।
आमा मुस्कुराउँछिन् । मुस्कुराईरहेकै मुद्रामा सुनमाया सबै छाडेर खुसुक्कै महायात्रामा जान्छिन् ।
विचित्र भ्रम दिने चित्रले अन्तिम क्षणमा सुनमायालाई क्षणभरको सुख दिन्छ जुन सुखको लागि तिनी जीवनभर तड्पेकी थिईन् ।
२०७७ पौष १७
७२.
नमस्ते सम्मान
रिटायर्ड लाइफ, दिनमा एक पटक हिड्छु । बिहानै मास्क लगाएर हिँडीरहेको बेला एउटी केटीले नमस्ते गरी । फर्काउनै आटेको थिएँ, मेरो पछाडिबाट फटाफट हिँडेको आवाजसँगै नमस्ते भन्ने आवाज आयो । नमस्ते त तिनलाई पो गरेको रहेछ ।
को रहेछ ? भनेर हेर्दा चिनेकै साली पो रहेछ । नमस्ते गर्छिन् कि भनेर हेरेँ । नबोली मलाई नहेरी फटाफट मलाई उछिनेर हिँडिन् । तिनलाई अलिक अगाडि अर्कै केटीले नमस्ते गरीन् । फेरि अर्काले, मैले देख्दाखेख्दै सालीनानीले चारवटा नमस्ते थापिन् ।
मास्कले गर्दा मलाई चिनिनन् होली कि मुला बुढो भेनाजुुको वास्तै नगरेको ! अलमलमा मनमनै कुरा खेलाउदा आफ्नो तन्नेरी कालको सम्झनामा पुग्छु ।
बि.ए. परीक्षा दिएपछि गाउँकै प्राथमिक विद्यालयमा प्रधानाध्यापक भएको थिएँ । नमस्ते बारे बिद्यार्र्थी केटाकेटीहरूलाई थाहै थिएन । छडिले पिटीपिटी नमस्ते गर्न सिकाईयो । हेडसर खुब नमस्ते खाइयो । पछि क्याम्पसमा पढाउदा पनि १०÷१२ वर्ष नमस्ते पाइयो । त्यसपछि भने १०÷ १२ वर्ष नमस्ते गुडमर्निङ छ्यासमिस !
त्यसपछि त बिद्यार्र्थी देखेपछि तर्सिन थालियो । दाँत झारेभने नक्कली नयाँ दाँत राख्न नसकिने तलब । डरैले छोडियो प्राध्यापन । रिटायर्ड मुलालाई कसले गर्छ नमस्कार ।
त्यसोभएपनि नमस्ते पाउने भोक मेटिएको छैन । कसैले नमस्ते गरीहाल्छ कि चनाखो भएर हिँडिरहेको हुन्छु । नमस्ते पाईएन ।
दूध लिएर फर्किन भर्खर खोलिएको नयाँ पसलमा दूध किन्न पस्छु । भर्खरकी पसल्नीले नमस्ते गर्छिन् । गदगद हुँदै नमस्ते थाप्छु ।
यसभन्दा अगाडि त कहिल्यै नमस्ते गर्दिनथिन् । आज कसरी गरिन् ?
जेसुकै होस् म त्यो नमस्तेले सम्मानित भएको अहसास गर्न पुग्छु । थोरै भए पनि आनन्दित हुन्छु । धन्य नमस्ते सम्मान ! सबैले पाउन्, सबैले सम्मानित जीवन भोग्न पाउन्— म सोच्न थाल्छु ! नमस्ते सम्मान ! मानिसहरूलाई बिना लागत खर्च नगरी दिन सकिेने प्रसन्नता, सुख र सम्मान मामुलि जस्तो लाग्ने नमस्ते रहेछ ।
२०७७ पौष २६
७३.
सुनको पखेटा
उसैलाई थाहा छ उसले कति कष्ट गर्याे, अभावग्रस्त जिन्दगीमा भोक मेटाउन कति पसिना बगायो । सर्वजन हिताय सोच्थ्यो । न्याय समानतामा आधारित समाज सोच्थ्यो । सबैको लागि सुखी जीवन सोच्थ्यो । तर उसले सोचेको पुग्दैनथ्यो ।
ऊ भुईमा माटोमा टेकिरहेको हुन्थ्यो । भुँइ छोडेर आकाशमा उड्न उसले अन्तरआत्मा बेच्यो ।
अन्तरआत्मा मरेपछि उसको पखेटा उम्रेको छ, त्यो पनि सुनको । टलक्क टल्केको पखेटा फिजाउँदै ऊ माथि माथि उडिरहेको छ ... उडिरहन्छ ।
सुनको पखेटाले उड्न थालेपछि उसको मुटु पनि सुनकै हुन थालेछ कि ! अब मुटुमा दया माया देशप्रेम न्याय विवेक कर्तव्यजस्ता दायित्वबोध उम्रिदैन । सर्वसाधारण आममान्छे भुसुना जस्ता लाग्छन् । कोरोनाले छट्पटिएको मानिसहरूलाई देख्दा अट्टहाँस गर्छ, भन्छ— मरे मरुन् दुर्वलहरू !
उड्दै छ ऊ, उड्दै छ ऊ !
पखेटा सुनको, मन सुनको, तन सुनको !
जति उडे पनि आखिर उत्रन पर्छ नै ।
सेक्सपियरले भनेका छन् “यदि कसैले मेरो सम्पत्ति लैजान्छ भने उसले संसारको मेरो सबै भन्दा तुच्छ चिज लैजान्छ ।”
उत्रनका लागि चारैतिर हेर्छ ।
उसका निम्ति सदैव खुला श्रमिक मजदुर किसान गरिबहरूको हृदय कतै देखिदैन ।
मायालु मातृभूमिको पवित्र माटो देखिदैन ।
गनाउने नरक सिवाय अरु उत्रने टेक्ने धरती छैन ।
अघिअघि पछ्याउने लाखौं थिए । खोई तिनीहरू, समर्थकहरू ?...???
— — — —
बौलाहा ! बौलाहा ! भन्दै केटाकेटीहरू उसलाई जिस्काउँदै खेदिरहेछन् । संसारको सबैभन्दा तुच्छ बस्तुको पछाडि दौडदा दौडदा ऊ बौलाहा भएछ... उसको पत्तुर जिन्दगी !!!
२०७७ बैशाख १२, धरान
७४.
चिन्ताको भुँमरी
हिजो बहिनीहरू आएका थिए । धेरै कुराहरू गरे । केही यस्ता कुराहरूले मलाई मनको जरैदेखि हल्लाई रहेको छ ।
पत्नीको देहान्तले एकल जीवन नियास्रो हुने नै भयो । जसोतसो बाँचिएकै छ । जबर्जस्ती मर्न सकिँदैन । नौरङ्गी जीवन ! जिजीविषा !!
‘अहिले त स्वस्थ्य हुनुहुन्छ तर जब अशक्त बिरामी हुनुहुन्छ, कसले स्याहार्छ ? छोराले हेर्छ ? बुहारीले ससुरालाई स्याहार्दैन नै । असल बुहारी नै भएपनि ससुराको गुहुमुत सोहोर्दैन, सोहोर्न मिल्दैन । लुगा खोल्न लाईदिन अफ्ठ्यारै हुन्छ । जोडि मिल्ने अर्को बिहे गर्नुहोस् । तातो खुवाउछ, स्याहार्छ । मान्नु हुन्छ भने हामी खोजिदिन्छौँ ।’
आँखा अगाडि बुढो अशक्त भोको, प्यासले तडपिएको रोगी आफ्नो अवस्थाको तस्वीर देखा पर्छ । आँखा टिलपिल हुन्छ, बिचरा असहाय म !
बहिनीहरूले भनेको ठीकै हो कि । तर बदमास आईमाई परी भने... डराउछु । बिहे गरीयो भने त छोरा बुहारीले घरबाट खेद्छन् नै !
अनेक तर्क बितर्क चिन्ताको भुँमरी मनभित्र हुडलिन्छ । कोसित सल्लाह लिने ? पत्नी हुँदा म समस्याले पिरोलिदा ‘आँ काजी चिन्ता नगर्नोस् । जस्तो पर्छ, त्यस्तै टर्छ ।’ भन्थिन् र ढुक्क हुन्थे ।
तिनी भएकी भए... नभएर त बुढेसकालको चिन्ताको भुँमरी देखा परेको छ । यो चिन्ता आवश्यक कि अनावश्यक ? कोसित सोधौँ ?
२०७७ पुस २८
७५.
रोपेको फल
उसको हातमा शक्ति थियो । उसले चाहेको जे पनि गर्न सक्थ्यो ।
पिडितहरू न्याय माग्न आए । हाँसेर झुठो आश्वासन दियो । कालाबाजारीया तस्कर अन्याय अत्याचारको संरक्षण गरेर अकुत कमिसन खायो । मुलुकको ढिकुटिमा मनपरि गर्याे । कानुन र संबिधानको खिल्ली उडायो । कुर्सीमा बसेकोले हाय हाय भइरहेको थियो । झिँगा पालेर अरिङ्गालको गफ दिईरहेको थियो ।
लोकहितको एउटै काम नगरेर पत्तुर भयो ।
अति भो । कुर्सीबाट उसकै मतियारहरूले खसाले । उसकै विश्वासी मतियारहरूले कुर्सीबाट झारेपछि अन्याय अत्याचार भ्रष्टाचारको अनेकौं मुद्दा लगाए ।
उसैले नियुक्त गरेको न्यायधिसहरू ! मुद्दा फासफुस गर्न फोन गर्छ । फोन उठाउदैन त । ऊ मतियारहरूलाई बोलाउछ । के आउँथे । उसलाई फसाएर उनीहरू उम्कि सकेका थिए ।
‘धेर नभुक्’ भन्दै उसैले जन्माएको गुन्डाहरूले उसलाई कुटपिट गर्छ अनि उसका केही धन पनि लुटपाट गरेर लैजान्छन् । ‘अन्याय भयो’ भनेर सहारा खोज्छ । ओरालो लागेकोलाई कसले साथ दिन्छ ? फेरि उसले त अन्यायलाई सिरानी बनाएर न्याय र सत्य मारेको थियो । कतै जनताले साथ दिन्छन् कि ! जनतालाइ हारगुहार गर्छ । जनता गलल हाँस्छन् ।
अन्यायको पीडा कस्तो हुन्छ ?
जेल पुगेपछि उसलाई महसुस हुन्छ .। आफैले रोपेको फल !
२०७७ वैशाख ४
७६.
सार्थक÷निरर्थक
“तिमी जे चाहन्छौ, कडा परिश्रम गरेपछि— दसवर्षपछि, दस महिनापछि, दस दिनपछि वा दस घण्टा पछि पाउने छौ । त्यो प्राप्त गर्न तिम्रो अठोटमा भर पर्ने छ ।”
“ठीकै छ, पाइन्छ भने म दृढ अठोटसाथ कडा परिश्रम गरिरहने छु ।”
श्रम ! श्रम जीवन रहेछ । श्रम गरिरहे जीवन सार्थक हुन्छ । प्राप्तिले बचाइ सार्थक हुन्छ भन्ने भ्रम सबैमा हुन्छ नै । म पनि भ्रमित थिएँ ।
परिश्रम गरेपछि मैले चाहेको—
दस वर्षपछि धरबार पाएँ । निरर्थक भयो, किन कि मसँग घरगृहस्थीमा साथ रहने जीवन साथीले छाडेर गइसकेकीले विरक्तिएको मलाई धरबारले कुनै सुख दिन सकेन ।
दस महिना पछि यश पाएँ । यश पनि मेरा लागि निरर्थक भयो किन कि दस महिनाको अपयसले त्यो यश यश भएन ।
दस दिनपछि मित्रता पाएँ । मित्रहरूले छाडिसकेपछि पाएको मित्रता पनि काम लागेन ।
दस दिनपछि पाएको ओेखति काम लागेन । किनकि दस दिनमा म निको नहुने रोगी भईसकेको थिएँ ।
दस घण्टा पछि प्राप्त हुने सम्मान पनि मेरा लागि अर्थहिन छ किन कि म दस घण्टा अगावै जाँदै छु । आयु मेरो वशमा छैन, चाहेर पनि म बस्न सक्तिनँ । गइसकेपछि गरिने सम्मान र मरेपछि पाइने स्वर्ग...के काम ?!
सम्मान र स्वर्गभन्दा ठूलो अन्तिम कालमा आफ्नै परिश्रममा जीवनभर कसैलाई अन्याय नगरि, थिचोमिचो नगरी, नठगि आफ्नै पसिना बगाएर बाँचेकोमा ओठमा रहेको मेरो अन्तिम मुस्कान अनमोल छ, सार्थक अन्तिम मुस्कान महान् !
२०७७ माघ ३
















Comments
Post a Comment