नाैरङ्गी फुली(१०२लघुकथा)
७७.
परोपकार
“परोपकार भन्नाले दुःिख, दरीद्रलाई दान, रोगीलाई सेवा, भोकोलाई भोजन आदि बुझिन्थ्योभने अहिले यसको परिधि र परिभाषा व्यापक भएको छ ।”
“कसरी ?”
“अहिले...
राजनीतिमा— असल मान्छे छान्नु
समाजमा— नैतिकताको जगेर्ना गर्नु
विकासमा— सबैले समान हिस्सेदार बन्न सक्ने विकास हुनु
संस्कृतिमा— विश्व भाईचारा, समान व्यवहार, समानताको आचरण हुनु
सभ्यतामा— समान हैसियत र समान अवसरको अवस्था हुनु
मानवियताको क्षेत्रमा— विश्व भाईचारा र विश्व शान्ति कायम राख्नु
... यिनीहरू आधुनिक विकसित उत्कृष्ट परोपकारका सुन्दर रूपहरू हुन् । यस्ता परोपकारहरूले मानिसहरू सदैव लाभावम्भित भईरहेका हुन्छन् । होइन र ?”
“हो नि तर...”
“तर–सर होइन । यस्तो परोपकार आजको आवश्यकता हो...!”
— — —
“जब विश्वको उन्नत्ति प्रगति विकास सबैको हितमा (कुनै एउटा झुण्ड ,समूह वा वर्गको लागि नभई) हुन थाल्छ ,सबैको समान उपकार हुन्छ । त्यस्तो परोपकारी व्यवस्था हर क्षेत्रमा आवश्यक छ । सबै मिलेर त्यस्तो व्यवस्था बनाउनु पर्छ ।”
— — —
सबैको सोच उन्नत हुँदैछ, र...
छलफल अझै जारी छ ।
२०७७ माघ ६
७८.
मतियार
सङ्गत कोसित गर्ने ? साथ कसलाई दिने ? कसरी समाजलाई सकारात्मक योगदान गर्न सकिएला ? ऊ सोच्न थाल्छ ।
उसले कुनै नराम्रो काम गरेको छैन । तर पनि उ राष्ट्रघात भ्रष्टाचारजस्ता कामहरूको मतियार भएको छ ।
“नचाहिँदो कुरा ? म कसरी मतियार हुन सक्छु ? म सर्वसाधारण आम मान्छे ! म कुनै राष्ट्रघात भ्रष्टाचार माफियातन्त्रसित प्रत्यक्ष संलग्न छैन, तसर्थ मतियार हैन ।’’
“भोट कसलाइ दिनुभयो ? कसको र कुन पार्टिको समर्थन प्रचार गर्नु भो ? पार्टिका नेताहरूका राष्ट्रघात भ्रष्टाचारजस्ता गलत कामको विरोध गर्नु भयो ? मौन बस्नु समर्थन होइन ? पार्टिभित्र सकारात्मक कामका लागि छालफल वा कुरा उठाउनु भो ? पार्टिलाइ सहि बाटोमा हिडाउने कोसिस गर्नु भयो ?’’
“हरेक ठाउँमा निरीह सर्वसाधारण म ! पार्टिभित्र पनि नगन्य म ! निरीह म ! म के गर्न सक्छु र ?’’
“तर तपाईँ जस्ताहरूलाई राजनीतिमा समाजमा व्यवस्थामा निरीह बनाएर तपाईँहरूकै समर्थन मतकै शक्तिको दुरूपयोग गरेर राष्ट्रघात भ्रष्टाचार फटाहा नेताहरूले गरिरहेका छन् । त्यसको स्वतः भागिदार र मतियार तपाईँ हुनुहुन्छ । मतियार !’’
“अहो कत्रो गल्ती हामी सर्वसाधारणहरूले गरिरहेका रहेछौँ अन्धसमर्थक भएर । अन्जानमै फटाहाहरूका मतियार भइरहेका रहेछौँ आफूलाई निरीह सम्झेर । सर्वसाधारणहरूले आफूलाई बलियो बनाएर आफ्नो शक्ति आफ्नै लागि सदुपयोग गरेमा मात्र सर्वसाधारणहरू शक्तिसाली भई सर्वसाधारणहरूको भलो र उन्नती हुने रहेछ । यति बुझेमा देश र समाज राष्ट्रघाति भ्रष्टाचारी धोकेबाजहरूको पञ्जाबाट मुक्त हुने रहेछ ।’’
नोवेल कोरोना कोविद १९ भाइरसबाट जोगिए जस्तै फटाहाहरूले राजनीतिमा फैलाइरहेका राष्ट्रघात भ्रष्टाचार आदिका भाइरससँग बचेर भावी सन्ततिका लागि देश जोगाउन सक्छौँ ।
त्यसका लागि राजनीतिमा पनि लगडाउन आवश्यक हुन सक्छ !
२०७६ चैत १४, धरान
७९.
बाँच्नुको आनन्द
दुईजना थोते बुढाहरू के के कुराहरू गर्छन्, कहिले सुँकसुकाउछन् भने कहिले जोड जोडले हाँस्छन् ।
“किन हाँस्नु भो यति मज्जाले ?”
“बाँच्नुको आनन्दले हाँसेको नि, मुलाङ्खरे । ” रसिक बुढा भन्छन् । ती दुई बुढाहरू बेलाबेला उनीहरूसित गफिने अधवैंसेलाई माया गरेर मुलाङ्खरे भन्ने गर्छन ।
“हन, म पनि बाँचिरहेकै छु त । बाँचेकोमा मलाई त हाँस उठ्दैन त ।”
“हाम्रो उमेरसम्म बाँचिस् भने थाहा पाउछस् मुलाङ्खरे ।” अर्को बुढा थप्छन् ।
“त्यो उमेरसम्म खै बाँचिएला जस्तो लाग्दैन । बरू अहिले नै बाँच्नुको आनन्द बताउनु भयो भने म मुलाङ्खरे पनि तपाईंहरूसँगै यसरी नै हाँस्न सक्थेँ !”
“उसो भए सुन्” रसिक बुढा भन्न थाल्छन् “आनन्द उमेरअनुसार हुन्छ । बाल्यकालमा आमाको काखमा बस्दाको आनन्द अतुलनीय हुन्छ । केटाकेटी हुँदा साथीहरूसँग खेल्दाको आनन्द, तन्नेरी हुन थालेपछि विपरित लिङ्गीप्रतिको आकर्षणमा जुन आनन्द हुन्छ नि बयान गरि साध्य छैन । युवा भएपछि जीवन साथी, सन्तान, सम्पत्ति, रोजगारी , मानसम्मान थप हुँदै जान्छ र आनन्द पनि थपिदै जान्छ । अनि त्यस पछि....”
बुढा आँखा टिलपिल गर्दै बोल्न बन्द गर्छन् ।
“अनि के त्यसपछि....”
“मुलाङ्खरे, जब उमेर ढल्कदै जान्छ, सबै कुराहरूले छोड्दै जान्छन् । दुर्घटना, भूकम्प वा त्यस्तै कागताली परे मात्र लोग्ने स्वास्नी सँगसँगै जान्छन् । नत्रभने त दाम्पत्य सुखमा रमाईरहेका बेला जीवन साथीले छोडेर जान्छ । दाम्पत्य सुख हराउछ । बल वैशले छाडेपछि साथीभाइले पनि छोड्छन् । उमेरका कारण कामले पनि छोड्छ, आम्दानीले पनि छोड्छ । सुखका दिनहरू बिस्तारै हराउदै गए पनि जिजीविषा भने बढ्दै जाँदो रहेछ । अरू दौतेरीहरू बितेको सुन्दा दुःख लाग्छ तर फेरि आफू बाँचिरहेकोमा आनन्द लाग्छ । यस्तै बाँचिरहेकोमा बाचुन्जेल हाँसेर आनन्द मनाउनु पर्छ भनेर हामी हाँसेका नि , मुलाङ्खरे ।ू
दुवै बुढाहरू फेरि हाँस्छन् हाहा..हा...
मुलाङ्खरे पनि कुरा अलिकति बुझेर र धेरै नबुझेर पनि लहैलहैमा हाँस्छ ।
केही बेरमा हाँसो थामिन्छ ।
अर्को बुढा गम्भीरतासाथ भन्छ— “अब त आफ्नै परिवारमा धेर भईन थालेको छ । मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्न थालेको छ । मर्न पाए कति आनन्द ! मर्नदेखि डर लाग्दैन । अहा ! मर्दाको आनन्द ! कति आनन्ददायी हुन्छहोला भन्ने लाग्न थालेको छ । तर मर्दाको आनन्द मर्नेले कहाँ भोग्न पाउँछ र ! बाँच्दाको आनन्द भोग्न पाइन्छभने मर्दाको आनन्द कहाँ भोग्न पाइन्छ र... बाँच्दाको भन्दा कैयौ गुणा बढि हुँदोहोला मर्दाको आनन्द...!! मर्दाको आनन्द...!!!
बुढाहरू भावुक भईसकेका हुन्छन् ।
२०७७ माघ ७
८०.
हातेमालो
गणतन्त्र आईसकेपछि पनि कसैलाई कसैको विश्वास थिएन ।
नीति र कार्यक्रम सामन्तवादकै ।
फुटेका थिए (धर्म,जात, क्षेत्र, संस्कृति, रितीरीवाज आदिको नाममा ।
झगडा मनमुटावलाई बढावा दिने पत्तुरहरू थुप्रै ।
हर काममा हस्तक्षेप बाधा व्यवधान दिइरहने पत्तुरहरूको नियत छर्लङ्ग भएपछि सब देशभक्तहरू एक भएका छन् ।
एकजुट भएर हातोमालो गर्दैछन् ।
एक तीरले तीन सिकार गर्दै छन् ।
— कोविद १९ को पराजय
—अतिक्रमणकारी परास्त
—सम्वृध्दिको आगमन !
पत्तुरका भतुवा–भडुवाहरू भागा रे भाग । एकताको हातेमालोले सब क्षेत्रमा सफलता प्राप्ति । झिलीमिली सुन्दर सबैको साझा देश !
२०७७ जेठ १९, लकडाउन
८१
चुलबुले मन
ऊ बाल्यकालमा पनि चुल्बुले थियो । छुकछुक गरिरहन्थ्यो । नचलि बस्दैनथ्यो । चकचके; कतै न कतै केही बिगार्दा गाली खान्थ्यो भने राम्रो गर्दा स्याबासी ।
जति ठूलो हुँदै गयो उसको चुलबुले अन्तरभित्र चमचम गर्दै रह्यो । अन्तरको चम्काइले सक्रिय बनाइरह्यो । धेरै थोक रहेछ संसारमा ! अँध्यारोमा अझ धेरै रहेछ... झण्डै आधिभन्दा धेरै मान्छे र विश्व !
उसको हृदय अँध्यारोमा झन् धेरै बल्दा, अन्तरमा झन् धेरै खैलाबैला मच्चिँदा ऊ झन् सक्रिय भई सेवामा संयम र धैर्यसाथ लागिरहन्थ्यो ।
सांसारिक दुःख, अज्ञान, उत्पीडन र अत्याचारले अन्तरमन झन् झन् द्रवित हुँदा हृदय दन्किन्थ्यो, बल्थ्यो । दान्कोको मुटु मसालझैँ बलेर उज्यालो छरेझैँ अन्तरको चमचम झन् प्रखर हुन्थ्यो । किरण प्रस्फुटन हुन्थ्यो । ती किरणहरू गुणागुणावृध्दि (मल्टिप्लाई) हुँदै जान्थ्यो । त्यो किरणले भेटेका सबैका अन्तर पनि चमचम हुँदै जान्थ्यो । यसरी जन्मेको प्रखर चमकले एउटा सुनौलो युगको जन्म भयो । त्यो युग ल्याउन हजारौं चुल्बुले चमचम मनहरू बलेर सकिएका थिए ।
यसरी अन्तर चमचमले धरती जगमग भएको छ । अहिले बाँचिरहेका हामीभित्र रहेको चुलबुले मन अन्तर चमचम र सृष्टिकै निरन्तर क्रमिकता हो रे...
“जति धेरै चुलबुले मन तुल्बुलिन्छ, आफूलाई सक्रियता, सेवा ,संयम र धैर्यको बलिवेदिमा झोक्न सक्नु कल्याण मार्ग हो ।” भन्ने विचार पनि प्रार्दुभाव भयो रे ।
(अहिले त अन्तर चमचमको पछि कोही लाग्दैनन् । त्यसोहुँदा चमचम चम्किने, किरण फाल्ने कुरै रहेन । सबै सांसारिक चमकदमक चमचमकै पछि छन् । तसर्थ यो चुलबुले मनको चमक पनि दन्त्यकथा भएको छ ।)
चुल्बुले मनको लघुदन्त्यकथा , भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला....।
२०७७।१०।१
८२.
अवस्थिति
झण्डै मरेको !
दिउँसो बुहारीले चिया दिएर आफ्नो कोठातिर गईहाली । चिया खाँदै मोबाईल हेर्न थालेँ । चिसो हुन थालेको चिया स्वाट्ट पारेको । सासै फेर्न नसक्ने गरि सर्किएँ । जोड जोडले खोक्दा घोप्टिएर टेबुलमा ठोक्किदा तीनचार चम्ची चिया मुखबाट चुहिए पछि अलिक सास फेर्न सकेँ तर अझै घ्यारघ्यार उँउ..उँ आवाज आउन थाल्यो । जोड जोडले खोकी चलेको चलेकै छ । राम्ररी सास फेर्न सकेको छैन । सास रोकिएर मरिन्छ जस्तो भईसक्यो । खोकी चलिरहेकै थियो । बल गरेर जोडजोडले खोकेँ पछि केही बेरमा ठीक भएँ । ठीक नभएको भए त कसैले थाहा नपाई गईसक्थे !
झण्डै मरेको, मान्छे त यसरी पो एक्लो हुँदा मद्दत नपाई मर्दो रहेछ ।
एउटा पाठ सिकेँ खाँदा अर्थाेक केही नगर्नु नसोच्नु । मरेको भए पनि के भएर मरेँ अरुलाई थाहै हुँदैनथ्यो । जीवन कति अनिश्चित !
ठीक भएपछि कसैलाई भनिनँ । भन्नै पनि किन प¥यो र । बजारतिर ओखति किन्दै एक फन्का मारेर फर्केँ ।
ठुलो नातिनी र सानो नाति मेरो कोठामा मोबाइलमा के के हेरिरहेका हुन्छन् । म आईपुग्नासाथ दुवैजना कोठा छोडेर जान्छन् ।
जेनरेसन ग्याप । रुचि र हाम्रो अवस्थिति मिल्दैन ।
कोठामा प्रायजसो म एक्लै हुन्छु । मलाई लाग्न थालेको छ परिवारमा मेरो प्रयोजन र भूमिका के ? फाल्तु हुन थाले कि ! एक्लै भईरहने म कतिबेला खुसुक्कै जान सक्छु । दुःख नपाई जान पाउँ— चाहन्छु । तर आफ्नो वशमा छैन ।
म गईसके पछि भने मैले ओगटेर छोडेको खाली कोठामा मेरा नातिनातिनाहरू भेला भएर मोबाइल हेर्ने, गफ गर्ने गरिरहेका दृश्यहरू मेरो कल्पनामा झल्कन्छ । तर त्यो म कहाँ देख्न पाउछु र !
२०७७ फागुन ७
८३.
आनन्दानुभूति
सञ्चारले जेलिएको विश्व... कैयौ किलोमिटर टाढा, हजारौ किलोमिटर टाढा, हिडेर त पुग्नै नसकिने, हवाईजहाजबाट पुग्न पनि दुई तीन दिन लाग्ने रे । पुगिएको छैन, पुग्ने आशा र लालसा पनि छैन । किनभने हवाईजहाज भाडा तिर्ने पैसा पनि छैन, भिषा पनि पाउँन सकिदैन । तर त्यहाँ पुगेका आफन्तहरूसँग इमो, मेसेन्जर, भाइवरजस्ता (पैसा नलाग्ने) माध्यमबाट हेराहेर गर्दै कुरा गर्दा सँगसँगै भएजस्तो भेटेजस्तो लाग्छ । महँगा कहिल्यै चाख्न नपाएका रक्सि र खाने कुराहरू देखाएर ‘चियर्स’ भन्छन् । आफूले पनि पानीकै गिलास भए पनि उचालेर चियर्स भन्नै पर्छ ।
छुट्टिका दिन त साथीभाइबहिनी र परिवारले घुमेको डुलेको रमणिय स्थलहरूको भिडिओ पठाई दिन्छन् । हेरेर पुगेजस्तै लाग्छ । आनन्दानुभूति हुन्छ । हप्तादिन गधाहाभन्दा बढि जोतिएर केही घण्टा आनन्द लिएको भिडिओ, फोटाहरू पठाएर स्वदेशमा रहेकाहरूलाई आफूले आनन्दै आनन्दमा जीवन गुजारीरहेको झझल्को दिन खोज्छन् ।
जेहोस् उनीहरूसँग निशुल्क कुराकानी र हेराहेर गर्दा मन रमाउछ नै । परिवार केटाकेटीले पनि नमस्ते हाइहलो गर्छन् ।
उनीहरूसँग यसरी कुराकानी भइसकेपछि सधैं मलाई लाग्छ अहिले जस्तै कति वर्ष सम्म कुराकानी गर्न पाईएला ।
१०÷२०÷३०÷४०÷५०...कतिसम्म ? १००वर्ष ? असम्भव ।
१००वर्षपछि मान्छेको आयु २००वर्ष हुन्छ रे वैज्ञानिक र स्वास्थ क्षेत्रमा हुने अभूतपुर्व प्रगतिले । १००वर्ष पछिको आफू नहुने समयको प्रगतिको के कुरा ! आफू नभएको संसारको के अर्थ !?
आनन्दानुभति गर्न पनि शरीर भएको आफू हुनुपर्ने रहेछ ।
अहिले आफू छु, जतिसम्म रहन्छु त्यो नै मेरो आफ्नो हो । आफू नै नरहे पछि के को सुख दुःख...आनन्दानुभूति ?
‘म आफू अहिले छु’ सम्झेर खुसी हुन्छु । आफू भइन्जेलको संसार हो, आफू नभएको संसारमा के को आनन्दानुभूति... !
२०७८ चैत १३,धरान
८४.
अनमोल मुस्कान
जिन्दगीमा नसाजस्तै केही कुराहरूले केही मानिसहरूलाई एकोहोरो एकाग्र तल्लिन बनाएको हुन्छ कि त्यस बाहेक अरु सबथोक उनीहरूले बिर्सन्छन् ।
त्यस्तै एकजना मनुवा थियो । उसले उमेर भएपछि बिहे ग¥यो, सन्तान जन्मायो । पारिवारिक जीवनको बंश परम्परा धान्न सबै कामकुरा पूरा ग¥यो । तर धनको अभाव महसुस गरेर ऊ धन कमाउन निर्लिप्त भयो । धन प्रसस्त कमायो । तर धन कमाउने एकसुर भएको उसले हाँस्नै बिर्सियो ।
मर्नुभन्दा अगाडि एकपल्ट स्वस्फुर्त हाँसो हाँसेर मर्न पाए हुन्थ्यो— उसको चाहना । त्यसका लागि उसले आफूले जिवनभर कमाएको सबै सम्पत्ति खर्चिन तयार हुन्छ ।
एकजना महिला (अधवैंसे) हुन्छे जसले कसैको अधरमा पनि मधुर मुस्कान ल्याउन सक्छ रे भन्ने सुनेर ऊ त्यस महिलाको शरणमा जान्छ ।
महिलाको सर्त हुन्छ— ऊ तिनीसँग रातभर बस्नुपर्छ । सारा जिन्दगी हाँसोको खडेरी ! ऊ तयार हुन्छ ।
सबैले देख्छन् । बिहान ऊ महिलाको काखमा मृत हुन्छ तर मृत उसको अनुहार र ओठमा मधुर मुस्कान खेलिरहेको देखिन्छ ।
अनमोल मुस्कान !!!
२०७७–८–२२
८५.
धोको
रगत परिक्षण गर्ने लाइनमा उभिएको छु । मोबाइल फोनको घण्टी बज्छ । बुहारीको रहेछ ।
“बिहानै बस आईहालेकोले घरका कसैलाई नउठाई हिँडिहाले । सबैलाई भनिदिनु होला ।”
“हुन्छ । कहाँ पुग्यो ?”
“लाहान...”
छोरा, बुहारी र पाँच वर्षकी नातिनी छोराको जागिर काठमाडौंमा भएकोले उतै बस्छन् । स्व.पिताका स्मृतिमा फलैचा बनाईसकेपछि हस्तान्तरण कार्यक्रममा आएका थिए । छुट्टी छैन भनेर छोरा भोलिपल्ट नै फर्की हाल्यो । दुई हप्ता बसेर आज बुहारी र नातिनी पनि फर्कदै छन् ।
यो दुई हप्तामा नातिनी मसित भर्खर झ्यामिन थालेकी हुन्छे र म कोपा (बाजे) र नातिनी बालशुलभ खेल खेल्दा रमाउन थालेका हुन्छौँ ।
अरू नातिनातिनीहरू त हुर्कि हाले । सानी नातिनीसँग धित मरुन्जेल खेल्ने धोको पनि पुग्ला त ? आफैलाई सोध्छु ।
रक्तपरिक्षणले के देखाउला ? मधुमेह— क्रिटेनाइन, युरिया, पोटासियम, सोडियम, ब्लडसुगर (फास्टिङ, पिपि) इसिजी आदि अनेक अनेक । कैयौ कामहरू अधुरा छन्, पूरा गर्न सकिएला ? कैयौ इच्छाहरू अधुरा रहेकै अवस्थामा... झन् नयाँ पनि पलाईरहेका छन् ।
अब यो जीवनको के भरोसा ?
साना साना मनका धोको पनि मनमै रहने भो !
सबै इच्छा कसको पो पुगेको होला र ...
किङ्ग मिडास सुनको सब चिज चाहन्थे र सुनकै पहाड थुपार्ने उनको धोको जे छोए पनि सुन बन्ने बरदान पाएर पूरा भयो त ? बरदान पाएपछि दिनभर सबैचिज छोए, सुन भयो । भोकाएका उनले स्याउ लगायत खाना खान खोज्दा ती पनि सुन भयो । हतास निरास भोको उनले सबैभन्दा बढि माया गरेकी आफ्नो छोरी अङ्गाल्दा छोरी पनि सुन भई रे । खै कहाँ बरदान पाएर पनि मान्छेको धोको पूरा हुँदो रहेछ र ...
अधुरो इच्छा , अधुरो जीवन ! अधुरो धोको !
२०७७ फागुन १२
८६.
मन बुढो हुँदैन
अरुको दयनीय अवस्थालाई पनि मानिसहरू आनन्दप्राप्तिको मुहान बनाउन सक्दा रहेछन् ।
बल्लबल्ल एकल जीवनसँग अभ्यस्त हुन थालेको मलाई साखुल्ले भएर सोध्छन्— विवाह गर्नु हुन्छ त ? उपयुक्त महिला खोजि दिन्छु÷दिन्छौँ ।
संसारमा पाइने सर्वआनन्ददायी दाम्पत्य सुख भोगिसकेकाले त्यो सुखको लालसा कसरी त्याग्न सकिन्छ र !
प्राप्ति भन्दा वैराग्यमा मोक्ष छ भनेर मन सम्भाल्न थालेको मलाई पनि एकल मानसिक कमजोरीको फायदा लिन आफन्त साथीभाइहरू निकै चतुरतासाथ प्रयत्नशील छन् ।
बुढेसकालमा स्याहार्ने सुशील महिला खोजि दिन्छाँै, हुन्छ मात्र भन्नुहोस् ।
हो त ? दाम्पत्य सुख कल्पनामा उदाउन थाल्छ । म पनि हुन्छ भनौँ कि सोच्न थालेको हुन्छु । तर फेरि यो वृद्ध उमेरमा ? बेइमान महिलाले अलिकति भएको चल अचल सम्पत्ति पनि (तीन महिना पनि नपुग्दै) लातलुत पारेर लगिदिए पछि महाविजोग भएका वृद्धहरू जस्तै म पनि हुन सक्छु ।
असल आईमाई त वृद्धसित किन आउँछ ?
दाम्पत्य सुखको लालसा...चेत अवचेत अचेत मनमा रहेकै हुन्छ नि !
त्यही लालसालाई मानिसहरू मनोरञ्जनार्थ व्यङ्ग बनाएर वृद्धहरूका मजाक उडाउछन् ।
साँच्चैको हितैसीझैँ भईटोपलेर आन्द्राभुडि दुहुँदारहेछन् ।
यसबाट वच्न मेरा वरिपरि मेरा नातिनातिनीहरू भईरहुन् र मलाई “कोपा (बाजे)! कोपा !” भनेर बोलाईरहुन् । यसरी उनीहरूले बोलाईरहे मलाई मेरो यथार्थ धरातल अवस्था थाहा भईरहने हुँदा म बुढेसकाल सहजतासँग काट्न सकूलाँ कि !
जेजति पाइयो, भोगियो, अब अरु लोभ मोह त्यागुँ कि ! तर मन बुढो हुँदैन रहेछ...! बुढो नहुने मनसँग खेलबाड गर्न भर्खरकाहरू लालायित हुँदा रहेछन् । बल्सि खेलेझैँ चारा फाल्दा परपीडाको सुख महसुस गर्ने मानसिकता ! चारोको लोभ... धन्य दाम्पत्य सुख ! सांसारिक मोहजाल मृत्युपर्यन्त सदैव जीवन्त हुँदोरहेछ है ! लहै ! बिचरा वृद्ध जीवन !!
२०७७ फागुन १४















Comments
Post a Comment